घान्द्रुकमा १७ करोड लगानीमा ‘घान्द्रुक कल्चर रिसोर्ट’
पाेखरा | बैशाख २, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा घान्द्रुक कल्चर रिसोर्ट उद्घाटन भएको छ ।
घान्द्रुक कल्चर रिसोर्ट प्रालिको सञ्चालनमा रहेको रिसोर्टको सगरमाथा टिभीका प्रबन्ध निर्देशक निर्मल गुरुङ, प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गरेका हुन् । नयाँ वर्षको अवसर पारेर ८० प्रतिशत कार्यसम्पन्न भएको रिसोर्टको उद्घाटन गरिएको प्रालिका अध्यक्ष कुलप्रसाद गुरुङले बताए ।
उद्घाटन कार्यक्रममा टिभीका प्रबन्ध निर्देशक गुरुङले रिसोर्टले घान्द्रुकको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । ‘पछिल्लो समय घान्द्रुकमा पर्यटकको चहलपहल बढिरहेको छ,’ उनले भने, ‘यो रिसोर्टले पक्का पनि पर्यटन क्षेत्रमा एउटा इट्टा थप्ने काम अवश्य गर्नेछ ।’ घान्द्रुकमा सभाहलसहितको रिसोर्ट आवश्यक भएकाले त्यो आवश्यकता पनि पुरा गर्ने उनको भनाई थियो ।
प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले रिसोर्टले घान्द्रुक मात्र नभएर नेपालकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । यहाँको पर्यटन क्षेत्र विकासका लागि सदनमा आवाज उठाउने उनले बताए । यस क्षेत्र हुँदै अन्नपूर्ण बेस क्याम्प र घोडेपानी पुग्न सकिने भएकाले खर्च गर्न चाहने पर्यटकका लागि रिसोर्ट सहयोगी हुने उनको भनाई थियो ।
करिब ३ वर्ष अघिदेखि निर्माण भइरहेको रिसोर्टको ८० प्रतिशत काम सकिएको रिसोर्ट सञ्चालन कुलप्रसाद गुरुङले जानकारी दिए । ‘कोरोनाको समय देखि नै बनाउन सुरु गरिएको हो । त्यो समय साह्रै गाह्रो अवस्था थियो,’ उनले भने, ‘तर पनि हिम्मत नहारी अनवरत रुपमा निर्माणको काममा लागे । आज ८० प्रतिशत काम सकेर नयाँ वर्षको दिन उद्घाटन गर्न पाउँदा साह्रै खुसी छु ।’ ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा साढे १७ करोड लगानी रहेको छ ।
रिसोर्टमा करिब ३ सय जना अट्ने सभाहल, रेष्टुरेण्ट, ५० वटा कोठा रहेको रिसोर्टका व्यावस्थापक सञ्जय गुरुङलले जानकारी दिए । सभाहलमा सेमिनार, गोष्ठी लगायत कार्यक्रम गर्न सकिन्छ । रिसोर्टमा बन्ने कोठा मध्ये २७ वटा तयारी अवस्थामा छन् भने, २३ वटा निर्माणाधिन अवस्थामा छन् । अहिले तत्काल ६० जना पाहुना व्यावस्थापन गर्न सकिने व्यवस्थापक गुरुङले बताए । रिसोर्ट पूर्ण रुपमा सञ्चालन भएमा २ सय जना पाहुना राख्न सकिनेछ । यहाँ २ वटा कल्चर कोठा, ४ वटा अतिविशिष्ट, १५ वटा विशिष्ट र अन्य सामान्य कोठा रहेको उनले बताए ।
लोप हुन लागेका पुराना संस्कार, संस्कृति जगेर्ना गर्ने उद्देश्यले रिसोर्टको परिकल्पना गरिएको सञ्चालक गुरुङले बताए । ‘अहिले हाम्रो संस्कार संस्कृति हराउँदै जान थालेका छन् । लोप हुने अवस्थामा रहेको संस्कृति जगेर्ना गर्न सकिन्छ की भनेर प्रयास थालेको हुँ,’ उनले भने, ‘कल्चर झल्काउने घुमाउने घर, ढिकी, जातो, घट्ट, पुराना धातुका सामान, डोका, नाङ्लो लगायत राखेको छु । यो सँगै राती सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।’ रिसोर्टको माथि हेलिप्याड पनि बनाइएको छ । रिसोर्टमा विद्यार्थी, संघ संस्थाका समुह आएमा विशेष छुटमा राख्न सकिने गुरुङले बताए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

